तिमी नै हौ मेरो जुनी

 

रित्तो थियो मनको पाना

केही शब्द थिएनन्

तिमी नहुँदा खुसीका ती

 कुनै अर्थ रहेनन् ।

 

जून खोज्दै हिँडेको थिएँ

औंसीको रातमा

स्वर्ग भेटें प्रिय मैले

तिम्रो कोमल हातमा ।

 

तिमी हाँस्दा हिमाल हाँस्छ

लाग्छ घाम झुल्कियो

तिम्रै यादमा आज फेरि

यो मन मेरो पुलकित भयो ।

 

डाँडा काँडा,खोला नाला

सबै साक्षी छन् यहाँ

तिमी बिनाको मेरो जीवन

हुन्छ भन्नु कहाँ ?

 

जूनको शीतल छायाँ भन्दा

तिम्रो न्यानो साथ प्यारो

तिमी नहुँदा लाग्छ मलाई

यो संसार साह्रै अँध्यारो ।

 

मुटुको हरेक धड्कनमा

नाम तिम्रै गुञ्जिन्छ

पवित्र यो हाम्रो माया

सधैं अमर रहिन्छ ।

 

चाहिँदैन मलाई हीरा

न त मोति सुन नै

तिम्रो मिठो बोली काफी

जीवन काट्न दिन नै ।

 

आँखामा तिम्रै तस्बिर छ

श्वासमा तिम्रै बास

तिमी नै हौ मेरो बाँच्ने

एउटा अन्तिम आश ।

 

हिजो सम्म अन्जान थियौं

आज मुटुको धनी भयौ

कति छिट्टै मेरो सारा

जिन्दगीको साथी बन्यौ ।

 

जुनी जुनी साथ दिने

बाचा म कसम खान्छु

तिमी हाँसेको देख्नलाई

म जे पनि गर्न सक्छु ।

 

माया के हो थाहा थिएन

तिमी आएर सिकायौ

यो मरुभूमि जस्तो मनमा

प्रितको फूल टिकायौ ।

 

अधुरो छु म तिमी बिना

जस्तै जल बिनाको माछा

तिमी नै हौ मेरो पूरा

हुने हरेक एउटा इच्छा ।

 

अँगालोमा बेरिँदा खेरि

संसार भुल्न मन लाग्छ

तिमी सँगै हुँदा मात्र

खुसी म तिर भाग्छ ।

 

यो नाता यो सम्बन्ध

कहिल्यै कतै नटुटोस्

हाम्रो यो सुन्दर साथ

दैवले पनि नलुटोस् ।

 

फेरि भन्छु प्रिय तिमीलाई

तिमी नै मेरो संसार हौ

मेरो सारा माया अनि

मेरो ठूलो उपहार हौ ।

 

अन्तिम साससम्म पनि

तिम्रै नाम पुकार्नेछु

यो जुनी मात्र होइन

अर्को जुनी पनि तिम्रै नाममा सार्नेछु ।

Comments

Popular Posts