छोरा, छोरी र 'म'

यो घरको आँगनमा दौडिरहेका ती दुई साना पाइलाहरू हेर्दा कहिलेकाहीँ मलाई लाग्छ, मेरो संसार यति नै हो र मेरो पूर्णता पनि यिनैमा छ। छोराको हाँसोमा म आफ्नो गर्व खोज्छु र छोरीको आँखामा आफ्नो प्रतिविम्ब। तर ती दुईको बीचमा उभिएर जब म ऐना हेर्छु, म त्यहाँ कतै 'म' लाई फेला पार्दिनँ। मेरो बिहान छोराको सपना बुनेर सुरु हुन्छ र मेरो रात छोरीको भविष्यको चिन्तामा सकिन्छ। उनीहरूका लागि म कहिले ढाल बन्छु, कहिले साहारा त कहिले केवल एउटा छाया। तर यो ममताको सागरभित्र कतै मेरो आफ्नै किनार भने हराउँदै गएको छ। छोरालाई 'बाबु जस्तै बलियो' हुनुपर्छ भनेर सिकाउँदा र छोरीलाई 'म जस्तै सहनशील' बन्न अर्ति दिँदा, मलाई झसङ्ग हुन्छ—के मैले अनिनै थाहा नपाई आफूलाई जस्तै उसलाई पनि त्यही साँचोमा हालिरहेकी त छैन? के मेरो 'म' हराए जस्तै भोलि मेरी छोरीले पनि आफ्नो अस्तित्व कसैको आमा वा कसैको श्रीमती हुनुमा मात्र सीमित राख्नुपर्ने त होइन?

समाजले मलाई एउटा महान् आमाको पगरी गुथाइदिएको छ, तर त्यो पगडीको बोझ मुनि मेरो व्यक्तिगत चाहनाहरू दबिएका छन्। छोराको सानो चोटमा म अतालिन्छु, छोरीको सानो असफलतामा म आफैँलाई दोषी ठान्छु। तर मेरो आफ्नै मनमा लागेका चोटहरूका बारेमा म कहिल्यै बोल्दिनँ। मलाई लाग्थ्यो, सन्तान जन्माएपछि एउटी स्त्री पूर्ण हुन्छिन्, तर म त झन् टुक्रा-टुक्रामा विभाजित भएकी छु। एउटा टुक्रा छोराको सफलताको पछि दगुर्छ, अर्को टुक्रा छोरीको सुरक्षाका लागि चिन्तित हुन्छ, र मेरो आफ्नो 'म' भन्ने भाग भने कता शून्यतामा हराएको छ, मलाई नै थाहा छैन। म उनीहरूका लागि बाँच्दाबाँच्दै आफू हुन नै बिर्सिसकेकी छु। मेरो नाम, मेरो रुचि, मेरा ती पुराना रहरहरू—ती सबै अब पुराना तस्बिर जस्तै धमिलो भइसकेका छन्।

म चाहन्छु मेरा सन्तानले मलाई केवल एउटी 'त्यागकी मूर्ति' को रूपमा मात्र नचिनुन्। उनीहरूले बुझून् कि उनीहरूको आमाको पनि एउटा आकाश थियो, एउटा आवाज थियो। म छोरालाई अरूको अस्तित्वको सम्मान गर्न सिकाउन चाहन्छु र छोरीलाई आफ्नै अस्तित्वको रक्षा गर्न। तर यो सिकाउनु अघि मैले आफैँलाई फेरि खोज्नु पर्नेछ। मलाई डर लाग्छ, कतै मेरो यो 'म' भन्ने तत्व सधैँका लागि यी सम्बन्धहरूको भीडमा बिलाउने त होइन? म केवल उनीहरूको आवश्यकता पूरा गर्ने एउटा मेसिन मात्र बन्न चाहन्न। म चाहन्छु, जब उनीहरू ठूला हुनेछन्, उनीहरूले एउटी यस्ती महिलालाई देखून् जो आफ्ना सन्तानलाई माया त गर्छिन्, तर जसको आफ्नै एउटा चम्किलो र स्वतन्त्र परिचय पनि छ। आखिर आमा हुनु भनेको आफूलाई सिध्याउनु मात्र त पक्कै होइन होला नि, होइन र?

Comments

Popular Posts