अस्तित्वको खोजी: एउटा आत्म-संवाद

कहिलेकाहीँ ऐनाको अगाडि उभिँदा मलाई आफ्नै प्रतिबिम्ब एउटा अपरिचित आकृति जस्तो लाग्छ। यो अनुहार, यो शरीर, यी आँखाहरू—सबै मेरा हुन्, तर के यी भित्रको मान्छे पनि मेरै हो त? सानैदेखि मलाई कसैको छोरी, कसैको दिदी, अनि पछि कसैको श्रीमती र कसैको आमा बन्न सिकाईयो। मैले अरूका अपेक्षाहरूको रङले आफ्नो क्यानभास भर्दै गएँ, तर त्यो भिडमा मेरो आफ्नै रङ कता हरायो, मैले पत्तो नै पाइनँ। मेरो अस्तित्व के केवल अरूलाई खुसी राख्नु र सम्बन्धहरूको भारी बोक्नुमा मात्र सीमित छ?

हरेक बिहान जब म उठ्छु, एउटा लामो दायित्वको सूची मेरो अगाडि उभिन्छ। म दौडिन्छु, म थाक्छु, म हाँस्छु, तर त्यो हाँसोको पछाडि एउटा मौन प्रश्न सधैं तेर्सिइरहन्छ— 'म को हुँ?' यदि मबाट यी सबै नाताहरू र जिम्मेवारीहरू हटाइदिने हो भने, के मभित्र केही बाँकी रहला? समाजले मलाई एउटा 'आदर्श नारी' को साँचोमा ढाल्न खोज्दा मेरो आफ्नै सपनाहरू, मेरा आफ्नै ईच्छाहरू कुन कुनामा थन्किए, मलाई यादै छैन। मान्छेहरू भन्छन् त्याग नै नारीको गहना हो, तर के आफ्नो अस्तित्व नै मेटाएर गरिने त्यागको कुनै मूल्य हुन्छ र?

अस्तित्वको यो खोजी कुनै विद्रोह होइन, यो त केवल आफूले आफैलाई चिन्न खोज्ने एउटा प्रयास हो। मलाई आकाशमा उड्नु छ, तर अरूको पखेटा सापटी लिएर होइन। मलाई आफ्नै परिचयको जगमा उभिनु छ। म केवल कसैको सहारा वा कसैको छाया बन्न चाहन्नँ; म त आफ्नै कथाको लेखक बन्न चाहन्छु। सायद मेरो अस्तित्व यो समाजले तोकिदिएको सीमाभित्र छैन, बरु यो त ती साना-साना खुसीहरूमा छ जुन मैले केवल आफ्ना लागि साचेकी छु। म आज खोज्दैछु त्यो हराएको 'म' लाई, जो कतै कर्तव्यको पर्खालभित्र थुनिएकी छ। मेरो अस्तित्वको अर्थ अरूले दिने मान्यतामा होइन, बरु मैले आफैलाई हेर्ने दृष्टिकोणमा लुकेको छ भन्ने कुरा मैले अब बुझ्नुछ।

Comments

Popular Posts