भगाइहरु

‘यहाँको माछा खूब स्वादिलो हुन्छ ।’ म सिदार्थ होटलको छतमा भएको कटेजझैं बनाइएको स्यानो ठाउँमा चुरोट तानेर अनावश्यक तर्कना गर्न लीन थिएँ । एउटा अपरिचित स्वर मेरो कानमा ठोक्किन्छ । म ऊतिर एउटा अरुचिको दृष्टिले हेर्छु अनि यसै मन नपरी नपरी भन्दिन्छु—ए π

बस् यत्तिनै बोल्या हो । उसले त्यसैलाई आधार मानेर थप बोल्ने बहाना पायो । भन्यो—यहाँ माछा खानै भनेर कहाँ कहाँदेखि मान्छे आउँछन् ।

‘तर म चुरोट खाइरहेछु ।’ मैले उतिर हाँस्दै हेरेर यसो भन्दिएँ ।

‘हा हा हा हा’ ऊ सिदार्थ होटल पुरै थर्कने गरी हाँसिदियो । तर मलाई भने रीस उठ्यो । उसले फेरि बोल्ने बहानामै सोध्यो—के तपाइँ एक्लै हो ?

मलाई रिस उठ्न छाडिसकेको थिएन । हातमा सल्किरहेको चुरोट देखाउँदै भनेँ—इ चुरोट छ नि π
ऊ यसपल्ट अघिको भन्दा अलिक मसिनो आवाजमा हाँस्यो र भन्यो—लाग्छ तपाइँ चुरोटलाई धेरै प्रेम गर्नुहुन्छ ।

मैले तुरुन्तै उत्तर दिएँ ‘होइन चुरोटले मलाई धेरै प्रेम गर्छ । ऊ आफूसितै मलाई पनि बालिरहन चाहान्छ । र सायद मपनि ।’

ऊ अब एकछिन केही बोलेन । र एकछिनपछि भन्यो—एकछिन कर्णालीको पुलसम्म निस्कनुहुन्छ कि ?
साँझ झमक्क परिसकेको थियो । चराहरु चिरबिर चिरबिर कराइरहेका थिए । चिसापानीमा दिउँसो भन्दा केही चहलपहल बढिरहेको जस्तो देखिन्थ्यो । हावामा मास्तिरको जङ्गलबाट आएको मीठो गन्ध थियो । यस्तोमा कर्णालीको पुलमा बसेर चीसो हावाको मज्जा लिनुमा छुट्टै आनन्द छ । तर मलाई त्यस मान्छेसित जानु थिएन र उसका अनावश्यक प्रश्नहरुको उत्तर मन नलागी नलागी दिनु थिएन । यसर्थ भनें ‘तपाइँ जान सक्नुहुन्छ, म केहीबेरमा आउनेछु ।’

धन्न उसले पर्खन्छु भनेन र तत्काल ‘पक्का है त’ भनेर गइहाल्यो । म पुनः आफ्नै स्थितिसित गाँसिन चाहेँ । त्यस रात चिसापानीको बास हुँदै थियो । भोलिको रात कहाँ बित्छ कुनै ठेगान छैन । यो यसै भइदियो । बिल्कुलै नसोचेको ।

म आफूलाई नै पत्याउन गाह्रो परिरहेको छ कि म काठमाडांैबाट भागेर यति टाढा आइपुगेको छु । त्यो पनि आफ्नै बिहाको मण्डपबाट । केटीहरु भागेको प्रशस्त सुनेको थिएँ तर केटो भागेको सुन्नु होइन भोग्नु नै परिरहेको छ । लाग्छ म एउटा ऐतिहासिक पात्र भइरहेछु, मलाई दुनियाले चिन्ने छन्—आफ्नै बिहाको मण्डपबाट भाग्ने केटो π यो सम्झेर काठमाडांैबाट हिँडेदेखि सयौँपल्ट हाँसिसकेँ आफैँप्रति । त्यो अघिको मान्छेलाई सुनाइदिए कति हाँस्दो हो, चिसापानी नै थर्काउँदो हो ।

तर यौटा फरक छ; विवाहको मण्डपबाट भाग्ने केटी र मबीच । यो सोच्दा यसै दिक्क लाग्छ । कमसेकम त्यो मण्डपबाट भाग्ने केटीले आफ्नो प्रेमी भेट्टाइरहेकी हुन्थी, आफ्नो परिवारलाई धुरुधुरु रुवाए पनि कमसेकम आफू त जीवन भरिको लागि हाँस्न पाउँथी । तर हाय π म त यति लाचारीका साथ भागेँ न परिवारलाई हँसाउने गरी भाग्न पाएँ, न आफू हाँस्न पाउने गरी भाग्न पाएँ । हँसाउने भएँ त केवल  जोरीपारी र शत्रुहरु । कुन सनकमा कुन उन्मादमा भागेँ, किन भागेँ, के पाउन भागेँ, कसका लागि भागेँ ? यी सब प्रश्नहरुको सिधा सिधा उत्तर छैनन् । म बिल्कुलै यौटा सनकमा भागेँ, सायद आफैसित भागेँ, आफूभित्रको पूर्वाग्रहका लागि भागेँ या खोइ मसित कुनै सगल्ती व्याख्या र परिभाषा नै छैन; सायद यो भगाइको । न म यो कर्णालीको परिवेशमा आफ्नो भगाइलाई ‘ठीक कदम’ भनेर विश्लेषण गर्न समर्थ भइरहेछु, न यी सबका बाबजुद मेरो मनमा शान्ति नै छ । म भागेँ बिल्कुलै औचित्यहीन र अर्थहीन पारामा । मेरो भगाइले हात पर्दैछ त केवल शून्य । होइन शून्य पनि धेरै भो । शून्य अर्थात् नोक्सानविहीन । म त त्यो स्थितिमा पनि कहाँ छु र ? मेरो हातमा त नोक्सानै नोक्सान छ । मैले धेरै थोक गुमाइसकेँ । अब पछुतो गर्नुको कुनै औचित्य छैन । कुनै लाभ छैन ।
तर यी सबका बाबजुद म पछुतो नै गर्ने स्थितिमा पनि पुगेको भने होइन । पछुतो हुने गरी भागेकै होइन । पछुतो हुने गरी नभागेको भैसकेपछि पछुताउनु किन ? हो, यसर्थ भनिरहेछु म पछुताएको छैन । तर क्षणिक सनक र उन्मादद्वारा परिवेष्ठित भने भएकै हो । भाग्नु र नभाग्नुको द्वन्द्वमा पनि धेरै लामो समयसम्म फसेकै हो ।

त्यसदिन बिहान देखिको कोलाहलले मस्तिष्क नै ठेगानमा थिएन । झन् त्यहाँमाथि बेहुला भनेपछि घरमा आउने प्रत्येक व्यक्ति मसितै आएर अनावश्यक सोधपुछ वा बोल्ने काम गरिरहेको हुन्थ्यो । कोही आएर मेरो सर्टको कलर मिलाइदिरहेको हुन्थ्यो, कोही ढाका टोपी अलिक बाङ्गो भो भनिरहेको हुन्थ्यो । कोही चश्मा नलाएको भएपनि हुन्थ्यो भनिरहेको हुन्थ्यो भने कोही बेहुला भएपछि चश्मा नलगाइ हुन्न भनिरहेको हुन्थ्यो । बाहिर आँगनमा ब्यान्ड बाजाको एक गु्रप बिहानै देखि कानका जाली फुट्ने गरी बाजा बजाइरहेका थिए । तल माथि रातो साडी लगाएका आइमाइहरुको ओहोर दोहोरको दृश्यले आँखै तिरमि¥याइरहेको थियो । हरेक निम्तालुसित मन नलागी बोल्दिनु पर्ने, मन नलागी नलागी हाँस्दिनुपर्ने । साना केटाकेटीहरु अलिक परबाट मतिर लुकीलुकी हेर्दै साउती मारिरहेका थिए । म आफूलाई जोकरभन्दा कम महसुस गरिरहेको थिइनँ ।
अनि मुख्य कुरा त्यो बिहे म आफ्नो लागि गरिरहेको थिइनँ । आमाबुवालाई बुहारी चाहिएको थियो, बहिनीलाई भाउजु र हजुरआमालाई जीवनको सबभन्दा ठूलो अभीप्सा पनाती पनातीनीको मुख हेर्न नपाइ मर्ने हुँ कि भन्ने थियो । अनि मैले यी सबै आफन्तजनको अभीष्ट पुरा गर्न यौटी अपरिचित स्वास्नी मान्छेलाई सिन्दुरपोते भिराएर उनीहरुका अघिल्तिर आजका मितिबाट यो मेरी स्वास्नी भइ भन्दिनु पर्ने थियो । तर कसैले मलाई सोधेनन् के मलाई पनि स्वास्नी चाहिएकै हो त ? म त्यस अपरिचित युवतीलाई स्वास्नीको रुपमा हेर्न सक्छु या सक्तिनँ भन्ने प्रश्न अँहँ कतै उठेन । हो यौटा निश्चित सम्झौता अनुसार म त्यस युवतीलाई आमाकी बुहारी, बहिनीकी भाउजु तथा हजुरआमाकी नातिनी बुहारीको रुपमा हेर्ने अठोट गरिसकेको थिएँ । तर मेरी आफ्नै स्वास्नीको दर्जा उफ् कसरी दिउँ त्यस युवतीलाई, जोसित म दुई शब्दपनि मुूिस्कलले बोलेको छैन । यो स्वास्नी शब्दले पनि मलाई केके कल्पना गराएन ? जब दश बाह्र वर्षको उमेर थियो मेरो, पल्लो घरमा भाडामा बस्ने एकजना स्कुल मास्टरले बिहे गरेर नयाँ दुलही भित्र्याएका थिए । म अन्टी भन्थेँ तिनलाई । उनी रातो रङको सारी लगाउँथिन्, निधारमा ठुलो टीका लगाउँथिन् र गलामा हरियो पोतेको झुप्पोमा सुनको तिलहरी चौबिसै घण्टा झुण्डिरहेको हुन्थ्यो । अनि कम्मरमा यौटा साँचोको झुप्पो हुने गथ्र्यो । म कल्पना गर्थेँ स्वास्नी यस्ती हुनुपर्छ । धेरै वर्षसम्म मेरो मस्तिष्कमा ती अन्टीको प्रतिबिम्ब आएर टक्क अडिन्थ्यो; जब मेरा कानले स्वास्नी भन्ने शब्द सुन्ने गथ्र्यो । विस्तारै जवानीमा पाइला टेक्ने क्रममा ती अन्टीको प्रतिबिम्ब पनि धमिलिंदै जान थाल्यो । उनीहरु डेरा पनि सरिसकेका थिए । मेरो मस्तिष्कमा स्वास्नी भन्ने शब्दको दायरा र काल्पनिक प्रतिबिम्ब केही विस्तार भएको थियो । तर निश्चय यौटा खाली ठाउँ थियो त्यो काल्पनिक प्रतिबिम्बलाई जीवन्तता दिने । बिगत ३ वर्षदेखि त त्यो प्रतिबिम्ब मेरो मस्तिष्कबाट पनि ओर्लेर उसको प्रतिबिम्बसित गएर एकाकार भइदियो । ऊ अर्थात् त्यो व्यक्ति जसका कारणले म भागेको छु आफ्नै विवाहको मण्डपबाट ।

रात पर्न पर्न आँटेको थियो । अब मलाई त्यो सिदार्थ होटलको छत र दुइ औँलाबीचको चुरोटभन्दा पनि कर्णालीको पुल र त्यहाँबाट बग्ने हावाको मोहले तान्यो जसको लागि त्यो अघिको मान्छेको बकवास सुन्ने जोखिम पनि उठाउन मन लाग्यो । हानिएँ कर्णाली पुलतर्फ । पुलमा मान्छेहरुको सङ््ख्या धेरै नै थियो । त्यो अघिको मान्छे वरपर कतै देखिएन । म पुलको डन्डी समातेर कर्णालीको वहाव हेर्न थालेँ । मास्तिर आकाश छ, सूर्यको प्रकाश बिनाको गाढा नीलो आकाश गाढा कालो हुनबाट चैँ अलिकति जोगिएको अनि तल डरलाग्दो, विस्फारित कर्णाली । चीसो हावा चलिरहेको छ । गृष्म सकिएर भरखर वर्षात् शुरु भएको अवस्थामा दिनभरिको चर्को घामपश्चात् चल्ने बेलुकीको त्यो हावाको श्पर्श पाउँदा बितेको दिनभरिको गर्मी पत्याउनै गाह्रो पर्छ । बेला बेलामा हर्न बजाउँदै टायर र पेट्रोलको गन्ध हावामा छर्दै तुफान हुइँकिदै आउने गाडीहरु भने त्यो रमणीयताको आस्वादनमा बाधक झैँ प्रतीत हुन्थ्यो ।

अँ म भनिरहेको थिएँ.........र यसर्थ उसको प्रतिबिम्बको स्मरणले मलाई आफ्नै बिहेको जग्गेबाट भगाउन कर लगायो । र म भागेँ । मलाई थाहा छ ऊ मलाई प्रेम गर्नु त परै जाओस् सक्दो घृणा गर्छे । हो, म आफूलाई घृणा गर्ने स्त्रीको केवल कल्पनाको लखेटाइले खेदिएँ । र सायद उसलाई थाहासम्म नहुँदो हो कि उसलाई मरिहत्ते प्रेम गर्ने मानिस आफ्नै बिहाको मण्डपबाट भागेको छ । हो, म भागेको छु उसकै कारणले तर उसका लागि होइन । न म उसलाई कतै खोज्दै हिंडेको छु । म त सकभर भाग्न चाहान्थेँ ऊबाट, उसका सम्पूर्ण यादहरुबाट । तर जति भाग्न खोजेपनि म कदम कदममा, दिन दिनमा, चोक चोक र गल्ली गल्लीमा उसको स्मृतीसँग, सम्पूर्ण ऊसित सादृश राख्ने तत्वहरुबाट लखेटि रहें । उसको प्रतिबिम्बले मेरो मस्तिष्कलाई यस्तरी छोपिदिएको थियो म जहाँपनि उसलाई देख्ने भैसकेको थिएँ । देखे चिनेका मध्ये अधिकांश महिला कुनै न कुनै कोणबाट उसको मुहार वा शरीरसित मिल्दिएको हुन्थ्यो । यो यहाँसम्म भैदिएको थियो कि जुन दिन म आफ्नै विवाहको लागि भनेर केटी हेर्न गइरहेको थिएँ त्यो केटी कता कता ऊ जस्तै बनेर बेसेकी थिई । त्यो केटी उसको जस्तै गरी चश्मा लगाएर ठिङ्ग उभिएकी थिई । पातली थिई, उसैको जस्तो कुर्ता लगाएकी, सानो मुख उसैको जस्तो । तर सत्य बोल्ने हो भने ऊभन्दा चैँ धेरै राम्री । हो, ऊ भन्दा केही अग्ली, केही गोरी, हाँस्दा उसको जस्तो गालामा दश ठाउँ मुजा पर्दैनथ्यो । तर पनि कता कता ऊ जस्तै ।  अनि त म झन् झस्किन लागेँ । यसै औडाहा भएर आयो । कहाँ गएर उसको भूतलाई मिल्काऊँ ? कुन तत्वमा छ उसको विस्मृति ? यसै छट्पटी हुन्थ्यो, उसको स्मृती लुतो झैँ, कतै फाल्न पाए हुन्थ्यो झैँ लागिरहन्थ्यो ।

बिहेको दिन बिहान उठ्दै यसै दिक्क लागिरहेको थियो । डाको छोडेर रुनु जस्तो भैरहेको थियो । कसैलाई तानेर सारा सत्य ओकल्नुजस्तो भैरहेको थियो । आमा बिहानै मेरो कोठा ढक्ढकाउँदै मलाई ब्युझाउँन आउनु भएको थियो । मैले ढोका खोलेँ । आमाले भन्नुभयो—आजपनि अबेर सम्म सुत्छस् ? बेहुला हुँदैछस् बज्या, नुहाइधुवाइ गर जा π मलाई तत्कालै आमालाई गम्लङ्ग अँगालो हालेर रुनु जस्तो भएको थियो । एकपल्ट रुन्चे स्वरमा –‘आमा’ भनेँ । ‘के ?’ आमाले प्रश्न गर्नुभो । भन्न भन्न खोज्दै पनि थिएँ; पछाडिबाट बहिनीले आमालाई बाले खोजेको जानकारी दिइ, आमा जानु भो । कोठाभित्र अब बहिनीमात्र थिई । ‘दाइलाई आज मै सिँगार्छु, अरुको त विश्वाशै लाग्दैन ।’ ऊ हँसिली थिई । मैले एकपल्ट बहिनी भन्दै भावनाद्र भएर उसलाई नै अँगालो हालेँ । ऊ छक्क परी । जिन्दगीमा कहिल्यै मायालु भावले नबोलेको दाइले त्यसरी एकाएक भावुक भएर अँकमाल गर्दा ऊ के छक्क नपर्ली π उसले तुरुन्तै ‘के भो दाइ ?’ भनेर सोधी पनि । म केही बोलिन वा भनौ न बोल्नै सकिनँ वा चाहिनँ भन्दा पनि हुन्छ । अनि केही बेरमा ऊ आफैँ बोली—बिहेको दिन यस्तो भावुक त केटीमान्छे भएको देखेकी थिएँ दाइ । उसले यो केही व्यङ्ग्यमिश्रित स्वरमा भनेकी थिई । त्यसले त्यहाँ बितिरहेको स्थिति त सहज भयो तर मेरो मन भने असहजको असहज नै थियो । कसलाई सुनाउँ झैँ, कहाँ पोखिउँ झैँ, उकुसमुकुस भैरहेको थियो । एक पल्ट लाग्यो, यो सब बालाई सुनाउनु उचित होला । लोग्ने मान्छेले लोग्ने मान्छेको समस्या राम्ररी बुझ्छन्, स्वास्नी मान्छेले स्वास्नी मान्छेको समस्या राम्ररी बुझेझैँ । तर यो कुनै रज्वस्वला वा सुत्केरी समस्या त थिएन । हाँसो लाग्छ एकपल्ट । के म बालाई यो भनुँ कि मेरो जोसँग बिहे हुन गइरहेको थियो ऊसँग म बिहे गर्न चाहान्न र म त्यस केटीसँग प्रेम गर्छु जो मलाइ चरम घृणा बाहेक केही गर्दिन । र यो भनुँ कि यो बिहे आफूलाई घृणा गर्ने त्यस केटीका निम्ति रद्द गरिपाऊँ । हा, कस्तो नचाहिने कुरा । कुनै कोणबाट जायज नलाग्ने । यी सब कुरा ममताकी खानी मानिने आमालाई त भन्न सकिन भने कठोरताका परिचायक मानिने बाका अघिल्तिर कठै के भन्न सकुँला र ? झन् त्यहाँमाथि प्रेम सम्बन्धी कुरा परिवारभित्र छिराएर म अपराधी झैँ हुन्न चाहान्नथेँ । प्रेम, त्यो पनि असफलताको चरमोत्कर्षमा पुगेको प्रेम । केटाकेटी बेलादेखि नै घरमा हलमा गएर सिनेमा हेर्नु र प्रेम गर्नुलाई तुच्छ ठानिन्थ्यो । मैले जीवनमा सिनेमा हलमा गएर जति सिनेमा हेरे पनि कहिल्यै सुनाइन । आज समय बद्लिसक्यो, म केटाकेटीबाट जवान भएँ । घरका सबै सदस्यहरु आफूहरु सिनेमा हेरेको बकाइदा जानकारी दिन्छन्, तर मैले त्यसो कहिल्यै गर्न सकिनँ । र बाँकी रह्यो प्रेम π कोही दुइजना केटा र केटीलाई सँगै हिँड्डुल गरेको वा बोलेको पाइएमा घरतिर ‘लागेछन् वा सल्किएछन्’ भनेर कुरा काट्ने गरिन्थ्यो र उनीहरुलाई एकदमै फटाइँ गरेको वा अपराध गरेका अपराधीझैं मानिन्थ्यो ।

अब यस्तो परिस्थितिमा मेरो संकुचित मस्तिष्कको सम्पूर्ण पर्दाहरु हटाएर सत्य बोल्न कसरी सकूँ ? तर मैले यो सबका बाबजुद पनि आफूलाई उघार्ने यत्न गरेकै हो । म बिहान उठेदेखि नै त्यस दिन भरिसम्म कसै न कसैलाई भन्ने ताकमा थिएँ । ठीक छ बा,आमा वा बहिनीलाई भन्न सकिनँ÷पाइनँ । त्यहाँ प्रशस्त नातेदारहरु पनि थिए जोसंग हाम्रो परिवारको कुनै कुरा लुक्ने गरेको थिएन । काका, फुपू, सानीमा, ठुल्यामा,मामा र तिनीहरुका छोराछोरी थुप्रै थिए । कोही न कोहीलाई भन्छु भन्ने थियो । तर त्यस दिन दिनभरि न म कुनै भीडबाट क्षणभरको लागि भएपनि वञ्चित रहन सकेँ न आफैले आफूलाई भीडमुक्त गराउन सकेँ । चाहेको भए सक्थेँ होला तर कुनै तारतम्य मिलेन । परिवेश र चाहना दुबैको । र त्यो सबै भावनाको मोचन यसरी भयानक कदममा रुपान्तरण होला भन्ने मैले अनुमान पनि गर्न सकेको थिइनँ ।

जन्ती प्रस्थान गरिसकेको थियो । म कारमा सुट, टाइ र दुबोको माला सहित छेउछाउमा बहिनी र अरु आफन्तहरुद्वारा परिवेष्ठित थिएँ । यसै गुम्सिएको जस्तो भान भैरहेको थियो त्यो कारमा । म झ्यालपट्टि नै थिएँ । झ्यालका सिसाहरु खुल्ला थिए । हावा छिरिरहेको भएतापनि मेरो शरीरबाट चिटचिट पसिना आइरहेको थियो । हातखुट्टा उचाल्दा थरर काँपिरहेका थिए । मुटु उम्लिरहेको थियो भुलुक्क भुलुक्क । यसै छटपट छटपछ भैरहेको थियो । भित्रैबाट ज्वरो फुटुलाजस्तो भैरहेको थियो । रातभरि निद्रापनि परेको थिएन । अाँखा मिचिरहेको थिएँ । मुख च्याप्प च्याप्प सुकिरहेको थियो । बहिनीसित पानी छ कि भनेर सोधें तर उसले नभएको बताइ । बेला बेलामा यसै भाउन्न भएर आउँथ्यो, रिङ्गटा छुटिरहेको थियो ।

कार बेहुलीको घर गएर रोकियो । धुमधामसित स्वागत भयो त्यहाँ । रङ्गीन मेचहरु अनि वरपर र माथि बेरिएको रङ्गिन पाल अनि केही पर एउटा स्यानो चुटुक्क परेको जग्गे । अनि राम्रा राम्रा पोसाकमा ठाँटिएर आएका निम्तालुहरु अनि तिनीहरुको शरीरबाट आइरहेको अत्तरको कडा वास्ना । निश्चय पनि यो सब राम्रो लाग्नु पर्ने हो तर म यी सबमा थिचिएको अनुभव गरिरहेको छु । यौटा भयानक पहाडले मलाइ किच्न आँटेकोजस्तो अनुभव गरिरहेको छु । म सक्दो चाँडो भाग्न चाहान्छु त्यो किचाइबाट । समग्रमा म जिउन चाहान्छु, लामो लामो श्वाश फेर्न चाहान्छु स्वच्छन्द हावाको समीप पुगेर ।  उफ्ः यो छट्पटी, यो बेचैनी शब्दातीत छन्, केवल  महसूुस मात्र गर्न सकिन्छ, म बताउन सक्तिनँ । यस्तो लागिरहेको थियो मानौ म पौडिन नजान्ने मानिसलाई कसैले गहिरो पानीमा हुत्याइदिएको छ । र म भ¥याकभ¥याक गर्दै क्रमश डुब्ने तरखरमा छु । शरीर पसिनाले निथु्रक्क छ, घाँटीमा दुबोको माला फाँसीको फन्दा झैँ लागिरहेको थियो । पिसाब लाग्ला लाग्ला जस्तो भएको थियो । जग्गेमा पण्डित मन्त्र पढिरहेको थियो । म छेउमा थिएँ । बेहुलीको घरको झ्यालबाट चार पाँचजना केटीहरु चिहाइरहेका थिए । सबैको दृष्टि मैतिर थियो । यसै लाज, भय र अनौठा र अजीव अनुभूतिहरु एकसाथ आइरहेका थिए । छेउमा एकजना दाइ थिए । उनलाई बोलाएर सुटुक्क पिशाब लागेको बताएँ । उनले सबैतिर बुझ बाझ पारेर ट्वाइलेट कहाँ भएको पत्तो लगाएर आए । ट्वाइलेटभित्र छिर्ने बेलामा दुबोको माला र कोट बाहिरै खोलेर पसेँ । पिसाब फेर्दा धेरै नै पोलेको महसुस भयो । ट्वाइलेटमा केही लामै समय बिताएँ । बाहिरपट्टि निस्कँदा केही चकमन्न झैँ थियो । यसो पल्याकपुलुक हेरेँ । आश्चर्य लाग्यो बिहेघरमा त्यस्तरी चकमन्न किन भएको थियो । त्यसको मलाई कुनै पर्वाह नै भएन । जान्न बुझ्न खोजे आफैँ फन्दामा पर्न सक्थेँ । तर बिहेघर त्यति चाँडो आश्चर्यजनक चकमन्न परिवेशमा कसरी रुपान्तरण भयो भन्नेमा भने म भित्रभित्रै अल्मलिरहेँ । एउटा नजानिदो त्रास आफसेआफ पलाएको थियो । तर यी सबका बाजुद कसैको केही वास्तै नगरी म भागेँ । नजीकैको बस स्टेण्ड गएर नयाँ बसपार्क जाने बस समातेँ । कोट र दुबोको माला जहाँ थियो त्यहीँ छोडिदिएँ । अनि थाहा छैन कुन्नि कुन प्रेरणाले यहाँ आइपुगेँ ।

‘सरलाई मैले कत्ति खोजेँ ’ त्यो अघिको झर्को लगाउने मान्छे कानमै आएर लामखुट्टे झैं कराइरहेको थियो । तल कर्णाली निरन्तर जोर जोरसित बगेको आवाज कम थिएन त्यसरी कानलाई दुख दिन ।

‘म कहाँ भागेको छु र ? खोज्नै हत्ते पर्ने गरी’ मैले उसलाई यसो भन्दा मनमनै सक्दो हाँस उठिरहेको थियो ।
‘होटलतिर लाग्ने होइन ?’ उसले भन्यो ।

यसपाली मलाई उसको बिरुद्धमा केही बोल्न मन लागेन । भने—‘हुन्छ ।’ यौटा चुरोट झिकेर सल्काएँ । सिद्धार्थ होटलले हामीलाई कुरिरहेको हुँदो हो । लाग्यो कहाँ कहाँबाट भागुँ, कस—कसबाट भागुँ र कैलेसम्म भागुँ π अनि यी भगाइका श्रृङ्खलाहरुको अवसान कहा“ छ ? कहा“ हो मेरो गन्तव्य ? यो सब म आफैंसित भागेको हु“, मलाई थाहा छ । तर पनि बुझ पचाएर भागिरहेको छु ।

होटल पुगियो । खानासाना खाइवरी सुत्ने तरखरमा थिएँ । सुत्नेबेलामा यो सोच्दै सुतेँ अब यहा“बाट भागेर भोलि कहाँ जाने ?
(२०६७ असोज)



From the short stories collection “Katha Ki Patra” of Subin Bhattarai


Comments

Popular Posts