पश्चाताप

म आफ्नो ईमेल हेर्दै थिएँ। यही क्रममा मैले एउटा ईमेल खोलें। त्यसमा लेखिएको थियो:

प्रिय लेखक,

आशा छ तपाईं आरामै हुनुहुन्छ। म तपाईंको ठूलो प्रशंसक हुँ। मेरो नाम रवि शर्मा हो। म विगत एक हप्तादेखि ओम अस्पतालमा भर्ना भएको छु र पर्सि डिस्चार्ज हुँदै छु। मलाई तपाईंलाई भेटेर आफ्नो कथा सुनाउन मन छ। कथा सुनाउनुको अर्थ मेरो कथा छपाउनु होस् भन्ने बिल्कुलै होइन। मेरो मनमा एउटा ठूलो गाँठो परेको छ। मेरो व्यथा सुनिदिने कोही भएन। त्योभन्दा पनि मबाट एउटा अक्षम्य गल्ती भएको छ, जसको पश्चात्तापले म भित्रभित्रै जलिरहेको छु।

मलाई पूर्ण विश्वास छ, तपाईं भोलि मलाई भेट्न पक्कै आउनुहुनेछ। म तपाईंको प्रतीक्षामा रहनेछु।

तपाईंको पाठक,

रवि शर्मा

यो ईमेल पढेर म निःशब्द भएँ। 'भोलि अस्पताल भेट्न जाऊँ कि नजाऊँ?' म एक पल सोच्न बाध्य भएँ। हुन त मलाई यस्ता ईमेलहरू धेरै आउँथे। धेरैले आफ्ना कथाहरू लेखिदिन आग्रह गर्थे, तर म त्यति वास्ता गर्दिनथेँ। तर यो ईमेलले मलाई सोच्न मजबूर तुल्यायो। त्यसैले, 'एक पटक कथा सुन्दा के नै बिग्रिन्छ र!' भन्ने सोचेर म अस्पतालतिर लागें।

रविको कोठा नम्बर ४२० थियो। म सिधै कोठा नम्बर ४२० मा छिरें र रविको बेड नजिकै गएँ।

मलाई देख्नासाथ उनको ओठमा एउटा फिक्का मुस्कान छायो। उनले भने, "मलाई थाहा थियो लेखकज्यू, तपाईं मलाई भेट्न पक्कै आउनुहुन्छ भनेर।"

म केही नबोली कुर्सिमा बसें। मेरो मनमा उसको कथा सुन्ने उत्सुकता जागिसकेको थियो। रविले फेरि भन्यो, "तपाईंलाई भेटेर धेरै खुसी लाग्यो।"

"तपाईंलाई के भएर अस्पताल भर्ना हुनुभएको हो?" मैले सोधें।

रवि एक पलका लागि मौन रहे। उनका आँखाहरू आँसुले भरिए। यस्तो लाग्थ्यो, उनी वर्षौंपछि रोइरहेका छन्। उनको आँसुले भनिरहेको थियो कि उनको मनमा धेरै पीडा छ, तर त्यो व्यक्त गर्ने उनले कतै ठाउँ पाएका थिएनन्।

उनको आँखामा आँसु देखेर मैले भनें, "तपाईंको आँखामा आँसु?"

"म आफ्नै कर्मका कारण आज यो अवस्थामा छु।"

"तपाईंले के भन्न खोज्नुभएको हो? मैले बुझिनँ नि!"

१. कलेजका ती दिनहरू र पहिलो भेट

म स्नातक (Bachelor's Degree) अध्ययनका लागि पुतलीसडकको कान्तिपुर सिटी कलेजमा पत्रकारिता विषयमा भर्ना भएँ। कलेजमा नयाँ विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम (Welcome Program) थियो। २०६७ साल भदौ महिनाको कुरा हो। कार्यक्रम कलेजकै हलमा दिउँसो २:०० बजे सुरु हुने भनिएको थियो, तर म उत्सुकताका कारण १:०० बजे नै पुगिसकेको थिएँ। म बाहिर एउटा बेन्चमा बसिरहेको थिएँ। त्यही क्रममा कलेजको गेटबाट कोही भित्र छिरेको देखें।

नजिकै आइपुग्दा देखियो—उनी एक सुन्दरी युवती थिइन्। उनले गुलाफी रङको टिसर्ट, कालो पाइन्ट र हिल स्यान्डल लगाएकी थिइन्। खुला छोडेको कपाल र ओठमा सजाएको गुलाफी लिपस्टिकले उनलाई निकै सुहाएको थियो। उनी मेरो नजिकै आइन्, मैले उनलाई धेरै बेर हेरिरहें।

उनी मेरै छेउको बेन्चमा बसिन् र मलाई हेरेर हल्का मुस्कुराइन्। मैले पनि मुस्कुराउँदै अभिवादन फर्काएँ। म उनीतिरै सम्मोहित भएँ। हलमा कार्यक्रम सुरु भइसकेपछि पनि मेरो ध्यान कार्यक्रममा भन्दा बढी उनीमै थियो। जब उनी नाच्न थालिन्, म लुकीछिपी उनीकै गति र मुस्कान नियालिरहें।

घर फर्किँदा पनि मेरो मनमस्तिष्कमा उनी मात्र छाइरहेकी थिइन्। म उनीकै कल्पनामा हराएँ। मलाई थाहा छैन—उनको नजरले मलाई तानेको थियो या म सम्मोहित भएको थिएँ, तर मेरा आँखाहरूले कलेजमा उनकै खोजी गर्न थालेका थिए। उनको आवाज सुन्न मेरो कान आतुर हुन्थ्यो।

कलेज भर्ना भएकै दिनदेखि रोहित मेरो मिल्ने साथी बनिसकेको थियो। हामी सँगै चिया-नास्ता खान्थ्यौँ। उसलाई मेरो यो एकतर्फी प्रेम कथाबारे सबै थाहा भइसकेको थियो। रोहितले 'म उसको बारेमा सबै पत्ता लगाइदिन्छु' भनेपछि मलाई अलि ढुक्क भयो।

एक दिन म एउटा पसलमा चिया पिउँदै थिएँ। त्यही बेला रोहित मलाई खोज्दै हस्याङफस्याङ गर्दै आइपुग्यो। उसले सोध्यो, "तँ कहाँ हराएको थिइस् यार?"

"किन र?" मैले सोधें।

"मैले तँलाई कति खोजें नि!"

"भन् न, के भयो?"

"तँलाई एउटा खुसीको खबर सुनाउनु छ।"

म चियाको चुस्की लिँदै भनें, "के कुरा हो, छिटो भन् न।"

"तैँले मन पराएकी केटी छ नि..."

"अनि...?" मेरो उत्सुकताको सीमा रहेन, म उसको अझ नजिक गएँ।

"त्यो केटीको नाम दीपिका श्रेष्ठ रहेछ। उनी अहिले तेस्रो सेमेस्टरमा पढ्दै छिन् र उनी कलेज टपर पनि हुन्।"

"अनि... उनको कोही प्रेमी (Boyfriend) छ कि छैन, त्यो थाहा पाइस्?"

"सबै काम मै मात्र गरुँ? तँ चाहिँ केही नगर्ने? अब अरू कुरा आफैँ पत्ता लगा!" उसले जिस्कँदै रिसको नाटक गर्‍यो।

"यार, नरिसा न! यो कलेजमा तँबाहेक मेरो अरू को नै साथी छ र?"

"रिसाएको होइन क्या, अरू कुरा आफैँ पत्ता लगा पो भनेको त।"

उनको बारेमा केही कुरा त थाहा भयो। म मनमनै मुस्कुराएँ, तर अरू कुरा कसरी अघि बढाउने भन्ने चिन्ताले मलाई सताउन थाल्यो।

२. पुस्तकालयको सामीप्यता

एक दिन म कलेजको लाइब्रेरीमा पढ्दै थिएँ। त्यही क्रममा मैले दीपिकालाई त्यहाँ देखें। यदि उनकी साथीले उनको नाम काढेर नबोलाएको भए सायद मैले ध्यान दिने थिइनँ होला।

म दीपिकालाई नै हेरिरहेको थिएँ। उनी आफ्नी साथीसँग पढाइमा मग्न थिइन्। म कसैले नदेख्ने गरी लुकेर उनलाई नियाल्ने गर्थें। यो क्रम करिब एक हप्तासम्म चलिरह्यो। म धेरै पटक उनीसँग बोल्ने प्रयास गर्थें, तर हिम्मत जुट्दैनथ्यो। उनको सामुन्ने जान खोज्दा मुटुको धड्कन तीव्र हुन्थ्यो, मनमा हलचल मच्चिन्थ्यो।

एक हप्तापछि, मैले लाइब्रेरीमा दीपिकालाई एक्लै बसिरहेको देखें। मैले मनमनै सोचें—'मौकामा चौका हान्ने यही नै सही समय हो।' म साहस बटुलेर उनी भएकै टेबलमा गएँ।

"हाई," मैले भनें।

उनी मुस्कुराउँदै भनिन्, "हाई!"

"के म यहाँ बस्न सक्छु?"

एक पलका लागि उनी अलि अप्ठ्यारोमा परिन्। मैले उनको असमञ्जस बुझें र कुरा सम्हाल्दै भनें, "वास्तवमा म फर्स्ट सेमेस्टरको विद्यार्थी हुँ। मलाई पढाइमा अलिकति सहयोग गरिदिनुहुन्छ कि भनेर?"

"हुन्छ, बस्नुस् न," उनले सहज बन्दै भनिन्।

त्यसपछि हाम्रो भेट नियमित हुन थाल्यो। हामी सँगै पढ्न थाल्यौँ। म जति उनको नजिक हुन्थेँ, उनीसँग अझ बढी समय बिताउन मन लाग्थ्यो। जब उनी कलेजमा हुन्नथिन्, मेरो मनले उनलाई नै खोजिरहन्थ्यो। कति बेला उनीसँग भेट होला भनेर म हरेक पल उनीकै सोचमा डुबिरहन्थेँ।

३. इन्द्रेणीको त्यो साँझ र अस्वीकार

एक दिन म र दीपिका लाइब्रेरीमा पढ्दै थियौँ। मैले बिस्तारै भनें, "दीपिका..."

"हजुर?"

उनको ध्यान र दिमाग पूरै किताबमै थियो। उनी पुस्तकमा मग्न भएको देखेर म केही बेर मौन बसें। केही समयपछि उनले मलाई हेर्दै भनिन्, "अनि... मलाई बोलाएर किन नबोलेको? के भयो रवि?"

मैले मुस्कुराउँदै जिस्क्याएँ, "तिमी किताबमा यसरी हराएपछि म के भनूँ र? त्यसैले चुप लागें। तिमी त कस्तो 'किताबी कीरा' भएकी। पछि विवाह भएपछि त तिमीले आफ्नो श्रीमान्‌लाई खानाको साटो किताब नै पस्किन्छौ होला!"

मेरो कुरा सुनेर उनी मज्जाले हाँसिन्। उनको हाँसोमा लय मिलाउँदै म पनि हाँसें।

"दीपिका, भोलि तिम्रो फुर्सद छ?"

"किन र रवि?"

"तिम्रा लागि एउटा सर्प्राइज छ।"

"के सर्प्राइज हो, भन न?"

"सर्प्राइज त सर्प्राइज नै हुन्छ नि! पहिले भन, भोलि समय छ कि छैन?"

"छ, तर बेलुका ५:०० बजेपछि मात्र।"

"हुन्छ, भोलि बेलुका ५:०० बजे म नयाँ बानेश्वरको इन्द्रेणी फूडल्यान्डमा तिम्रो प्रतीक्षा गर्नेछु। तिमी ठीक समयमा आऊ है।"

उनी आउन सहमत भइन्।

भोलिपल्ट म ५:०० बजे नै इन्द्रेणी पुगिसकेको थिएँ। मेरो मुटु जोडले धड्किरहेको थियो। आज म दीपिकाका सामु आफ्नो मनको कुरा, आफ्नो प्रेम व्यक्त गर्न गइरहेको थिएँ। उनीबाट के जवाफ आउला, मलाई थाहा थिएन। मनमा एउटा डर पनि थियो—कतै उनले मेरो प्रेम प्रस्ताव अस्वीकार त गर्ने होइनन्?

उनी बेलुका ६:३० बजेतिर आइपुगिन्। उनले रातो टिसर्ट र कालो पाइन्ट लगाएकी थिइन्, कपाल खुला थियो। उनी जे लगाउँदा पनि उत्तिकै सुन्दरी देखिन्थिन्।

मैले अगाडिको कुर्सी तानेर उनलाई बस्न आग्रह गरें। उनी बसिन् र म पनि आफ्नो कुर्सीमा बसें।

"तिमी के खान्छौ दीपिका?"

"अहिलेका लागि ब्ल्याक कफी (Black Coffee) मात्र खाऊँ।"

मैंने वेटरलाई बोलाएर दुई कप ब्ल्याक कफी अर्डर गरें।

हामीबीच केही बेर मौनता छायो। कफी आएपछि त्यसको चुस्की लिँदै दीपिकाले सोधिन्, "के हो त त्यस्तो सर्प्राइज रवि, भन न?"

म आफ्नो गोजीबाट रातो गुलाब निकाल्दै उनको अगाडि भुइँमा घुँडा टेकेर बसें। मैले भने, "दीपिका, जबदेखि मैले तिमीलाई पहिलो पटक कलेजमा देखें, म तिम्रो मायामा परें। सुरुमा यो मेरो भ्रम होला भन्ने सोचेको थिएँ, तर जब लाइब्रेरीमा हाम्रो दिनहुँ भेट हुन थाल्यो, मेरो यो भावना अझ गाढा बन्यो। तिमीलाई कतै गुमाउनुपर्ने हो कि भन्ने डरले मैले अहिलेसम्म भन्न सकिनँ। आई लभ यु, दीपिका!"

मैले त्यो रातो गुलाब उनको अगाडि बढाएँ। उनी स्तब्ध भइन् र केही बेर यताउता हेर्दै मौन रहिन्। त्यसपछि गम्भीर हुँदै भनिन्, "रवि..."

उनी फेरि रोकिएर मौन भइन्। उनको अनुहारको भाव हेर्दा मेरो मन चिसो भयो। मलाई लाग्यो, उनले मेरो प्रस्ताव अस्वीकार गर्दै छिन्।

"रवि, मलाई माफ गर। म तिमीलाई त्यसरी मन पराउँदिनँ। मेरो जीवनमा पहिले नै कोही छ, मेरो प्रेमी छ। वास्तवमा, मैले तिमीलाई कहिल्यै त्यो नजरले हेरिनँ। यदि मेरो प्रेमी नभएको भए पनि, म तिम्रो यो प्रेम प्रस्ताव स्वीकार गर्न सक्दिनथेँ।"

यति भनेर दीपिका जुरुक्क उठिन् र इन्द्रेणीबाट बाहिरिइन्। म हातमा गुलाब बोकेर भुइँमै जडवत् बसिरहें। उनको त्यो कठोर अस्वीकारले मेरो अहम् (Ego) र मनमा गहिरो चोट पुर्‍यायो।

४. डिप्रेसन र कलेजबाट दूरी

त्यस घटनापछि म एक हप्तासम्म कलेज गइनँ। मेरो पुरुष अहम्मा ठूलो धक्का लागेको थियो। मैले कसैको फोन उठाइनँ, न त घरबाट बाहिर नै निस्किएँ। मैले आफ्नो मनको पीडा परिवारका सदस्य कसैलाई पनि भन्न सकिनँ। म बिरामी छु भनेर घरमा झुटो बहाना बनाएँ।

जब म एक हप्तापछि कलेज फर्किएँ, रोहितले मलाई प्रश्नहरूको ओइरो लगायो। तर म कसैको कुरा सुन्ने मुडमा थिइनँ। म कक्षामा चुपचाप बसिरहें। मेरो यस्तो बदलिएको व्यवहार देखेर रोहित अचम्ममा पर्‍यो। कक्षा सकिएपछि म चिया पसलमा गएँ, रोहित पनि मेरो पछि-पछि आयो। मैले चियासँगै चुरोट पनि मगाएँ। मलाई कहिल्यै चुरोट नछुने मान्छेलाई चुरोट तानेको देखेर रोहित छाँगाबाट खसेजस्तै भयो। म धुवाँ उडाउँदै चुपचाप चिया पिइरहेको थिएँ।

उसले आत्तिएर सोध्यो, "तँ पनि चुरोट तान्न थालिस? तँलाई आजकल के भएको छ यार? एक हप्तासम्म कहाँ हराएको थिइस्? मेरो फोन किन नउठाएको?"

म केही बोलिनँ, शून्य भइरहेँ। करिब पाँच मिनेटको मौनतापछि मैले सोधें, "हाम्रो फर्स्ट सेमेस्टरको परीक्षा कहिलेदेखि सुरु हुन्छ?"

"चैतमा। अब दुई महिना मात्र बाँकी छ," उसले जवाफ दियो।

चैतमा परीक्षा हुने थाहा पाएपछि म कलेजका कुराहरू बिर्सेर परीक्षाकै तयारीमा लागें। मैले रोहित लगायत सबैसँग बोल्न, सङ्गत गर्न छाडिदिएँ।

५. परीक्षापछिको पुनर्मिलन

हेर्दाहेर्दै परीक्षा पनि सकियो। एक दिन म कलेजको लाइब्रेरीमा बसेर पढ्दै थिएँ। त्यही क्रममा मैले दीपिकालाई त्यहाँ देखें। उनले मलाई देखिसकेकी थिइनन्। उनी लाइब्रेरीको कुनापट्टि रहेको टेबल-कुर्सी भएको ठाउँमा गएर बसिन्। उनीसँग कुरा गर्ने यो एउटा राम्रो मौका थियो। म बिस्तारै उनी भएतिर गएँ।

"हाई," मैले भनें।

उनले टाउको उठाएर मलाई हेरिन् र मधुरो मुस्कुराउँदै भनिन्, "हाई!"

"के म यहाँ बस्न सक्छु?"

"हुन्छ, बस्नुस् न," उनले किताबतिरै ध्यान दिँदै भनिन्।

"आई एम सरी, दीपिका। त्यो दिनको व्यवहारका लागि..." मैले माफी मागें।

"ठीकै छ, इट्स ओके," उनले सहज बन्दै भनिन्।

"तिमी मसँग रिसाएकी त छैनौ नि?"

उनले किताब बन्द गर्दै भनिन्, "सुरुमा त मलाई निकै रिस उठेको थियो, तर पछि बिस्तारै रिस मर्यो। यदि तिमी मेरो पछि लागेर मलाई सताइरहेको भए मलाई सधैँ रिस उठ्थ्यो होला। तर प्रेम प्रस्ताव राखेपछि तिमीले त्यो कुरालाई त्यहीँ बन्द गरिदियौ। आखिर मानिसहरूको आ-आफ्नो दृष्टिकोण र भावना हुन्छ। त्यसैले मैले त्यो कुरालाई मनमा राखिनँ।"

म अलिकति ढुक्क भएँ र मुस्कुराउँदै सोधें, "के हामी फेरि असल साथी बन्न सक्छौ त?"

मेरो कुरा सुनेर उनी पनि मुस्कुराइन्। हाम्रो मित्रता फेरि जोडिने सङ्केत मिल्यो।

"अनि... तिमीले आफ्नो प्रेमीसँग मलाई कहिले परिचय गराउँछौ त?" मैले सोधें।

६. ईर्ष्या र उन्मादको रात

दीपिकाको प्रेमीको नाम संयोग रहेछ, जो एउटा प्रतिष्ठित आईटी कम्पनीमा काम गर्थे। केही दिनपछि दीपिकाले मलाई संयोगसँग भेटाइन्। जब जब दीपिका संयोगको तारिफ गर्थिन्, मलाई भित्रभित्रै रिस उठ्थ्यो। मेरो मनमा नकारात्मकताले डेरा जमाउन थाल्यो—'ममा त्यस्तो के कमी थियो र यसले मेरो चोखो मायालाई लत्याएर त्यसलाई रोजली?'

जब म ती दुवैलाई सँगै देख्थेँ, म ईर्ष्या र हीनताबोधले ग्रसित हुन्थेँ। म त्यो दृश्य सहन नसक्ने अवस्थामा पुग्थेँ। मलाई आफैँ थाहा थिएन कि म भित्रभित्रै कति क्रूर बन्दै गइरहेको थिएँ। मेरो स्वभाव पूर्ण रूपमा बदलिसकेको थियो। दीपिकालाई पाउनका लागि म अब जुनसुकै हद पार गर्न तयार भइसकेको थिएँ।

असार २२, २०७० सालको कुरा हो। त्यो दिन दीपिकाको जन्मदिन थियो। उनले हामीलाई एउटा डान्स बारमा पार्टी दिएकी थिइन्। त्यस रात मैले अत्यधिक मदिरा सेवन गरेँ। म लगातार उनीहरू दुवैलाई नै हेरिरहेको थिएँ। पार्टी चल्दै गर्दा दीपिका एक्लै बारबाट बाहिर निस्किन्। म पनि मौका छोपेर उनको पछि-पछि लागेँ। बीचमा उनी शङ्का लागेर पछाडि फर्किन्, तर म हतार-हतार लुकेँ। कोही नभएको ठानेर उनी अगाडि बढ्दै गइन्। म उनको छाया बनेर पिछा गरिरहेँ।

अचानक उनी रोकिइन् र मुस्कुराउँदै पछाडि फर्किन्—शायद उनले संयोग आएको ठानेकी थिइन्। तर संयोगको साटो मलाई देखेपछि उनको अनुहारको मुस्कान गायब भयो। उनी अचम्म पर्दै भनिन्, "रवि, तिमी यहाँ?"

म मदिराको नशामा लठ्ठ थिएँ, मेरो होस ठेगानमा थिएन। म दीपिकाको नजिक गएँ र उनलाई जबरजस्ती एउटा सुनसान अँध्यारो गल्लीतिर तानेँ। उनी आत्तिएर आफूलाई बचाउन चिच्याउँदै सङ्घर्ष गरिरहिन्, तर नशा र उन्मादले अन्धो भएको मैले उनीमाथि जबरजस्ती गरेँ—मैले उनको अस्मिता लुटेँ।

७. भयानक परिणाम र पश्चात्ताप

त्यो कालो रातको घटनापछि न त मैले उनीसँग सम्पर्क गर्ने आँट गरेँ, न त कलेज नै गएँ। कलेज नगएको एक महिना भइसकेको थियो। तर म भित्रभित्रै झन् क्रूर भइसकेको थिएँ। म दिनहुँ दीपिकालाई फोन गरेर धम्क्याउने र जबरजस्ती गर्ने गर्थेँ।

एक दिन, दीपिकाले मलाई उनको साथीको एउटा खाली अपार्टमेन्टमा बोलाइन्। बेलुकाको साढे नौ बजेको थियो। म मनमनै खुसी हुँदै उनी भएको ठाउँमा पुगेँ। उनी अपार्टमेन्टको कौसीमा आकाशतिर हेर्दै टोलाइरहेकी थिइन्।

म बिस्तारै उनको नजिक गएँ र उनलाई बोलाएँ। दीपिकाले मतिर फर्केर हेरिन्। हामी केही बेर मौन रह्यौँ। दीपिकाका आँखाहरू आँसुले डम्म भरिएका थिए।

"तिम्रो आँखामा आँसु?" हुन त मलाई यो प्रश्न सोध्ने कुनै अधिकार थिएन, किनकि मलाई यसको भयानक कारण थाहा थियो।

"मैले त तिमीलाई एउटा असल साथी सम्झेकी थिएँ रवि!" उनी रुँदै चिच्याइन्, "तर तिमीले मेरो पूरै जिन्दगी बर्बाद गरिदियौ। तिम्रो यो हर्कत थाहा पाएर मेरो प्रेमीले मलाई सधैँका लागि छोडेर गयो। त्योभन्दा पनि ठूलो सजाय—म तिम्रो पापको अंश, तिम्रो बच्चाको आमा बन्दै छु!"

उनको कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ। तर मेरो भित्री मनमा एक प्रकारको पाशविक खुसी पनि थियो कि अब उनी सधैँका लागि मेरै हुनेछिन्। म केही भन्न खोज्दै थिएँ, तर उनी रोकिइनन्।

"तिमीले हरक्षण मलाई दिएको मानसिक र शारीरिक यातनाका कारण म गहिरो डिप्रेसनमा गएँ। मैले आफ्नो यो पीडा कसैलाई भन्न सकिनँ, मलाई लाग्यो मेरो यो रोदन कसैले बुझ्ने छैन। रवि, म चाहन्थेँ तिमी यो संसारबाट सकिएर जाओस्, तर म त्योभन्दा ठूलो सजाय तिमीलाई दिन चाहन्छु। म चाहन्छु कि तिमी जिन्दगीभर पश्चात्तापको आगोमा जलिरहो। म यो स्वार्थी संसार छोडेर जाँदै छु। आशा छ, तिमीले आफ्नो कर्मको सबैभन्दा कडा सजाय पाउनेछौ!"

यति भन्नासाथ उनी द्रुत गतिमा दौडेर कौसीको रेलिङबाट तल हामफालिन्। मैले दौडेर उनलाई बचाउन खोजेँ, तर मेरो हातमा उनको कपडाको एउटा टुक्रा मात्र आयो। तल हेर्दा उनको निर्जीव शरीर रगतको आहालमा डुबिसकेको थियो।

म अत्तालिँदै, काँप्दै त्यहाँबाट भागेँ। म सिधै दरबारमार्गको एउटा क्याफेमा छिरेँ र चेत नहुने गरी रक्सी पिएँ। म नशामा चूर भएर दरबारमार्गको सडकमा बर्बराउँदै हिँडिरहेको थिएँ, त्यही क्रममा एउटा तीव्र गतिको गाडीले मलाई ठक्कर दियो। मेरो भयानक दुर्घटना भयो।

रविको आँखाबाट बरबर आँसु झरिरहेका थिए। यस्तो लाग्थ्यो, उनी वर्षौंदेखि थुप्रिएको पीडा आज आँसुमार्फत बगाइरहेका छन्।

मैले लामो सास तान्दै उनलाई सोधेँ, "अनि... तिमीले के पायौ त रवि? तिमीले एउटी निर्दोषको ज्यान मात्र लिएनौ, आफ्नो जिन्दगी पनि सदाका लागि बर्बाद पार्‍यौ। यदि तिमीले उनलाई साँचो माया गरेको भए, तिमी उनको खुसीमा खुसी हुन्थ्यौ। आफ्नो मायालाई सहजै अंगाल्न नपाए पनि टाढैबाट भए पनि सम्मान गर्थ्यौ। दीपिकाले मर्ने बेला भनेझैँ, तिमी जिन्दगीभर पश्चात्तापको यो नरकमा डढिरहनेछौ। तिम्रो लागि योभन्दा ठूलो सजाय अरू केही हुन सक्दैन।"

"हो लेखकज्यू, मबाट अक्षम्य भूल भयो। जिन्दगीभर कहिल्यै निको नहुने गल्ती!" रविले आफ्नो अपाङ्ग शरीरलाई हेर्दै रुन्चे स्वरमा भन्यो, "मैले न त उनको माया पाएँ, न त एउटा असल साथी नै बचाउन सकेँ। माया नपाउनु ठूलो कुरा होइन रहेछ लेखकज्यू, जीवनमा एउटा असल साथी गुमाउनु सबैभन्दा ठूलो दुर्भाग्य रहेछ। त्यो दुर्घटनामा मेरो ज्यान त जोगियो, तर म सधैँका लागि ओछ्यान परेँ। ह्विलचेयरको यो जिन्दगी नै मेरो कर्मको सजाय हो।"

रविको यो कहालीलाग्दो कथा सुनेर म भारी मन लिएर अस्पतालबाट बाहिरिएँ। मानिसको जिन्दगी पनि कति अनौठो र रहस्यमयी छ! मैले आजसम्म सुनेका र लेखेका कथाहरूमध्ये यो सबैभन्दा फरक र हृदयविदारक थियो। मानिसहरू आफ्नो आशक्ति र स्वार्थ पूरा गर्न कुन हदसम्म गिर्दा रहेछन्! साँचो मायामा त त्याग र समर्पण हुन्छ, तर यो कुरा नबुझ्दा मानिसहरू क्षणिक आक्रोश र अहम्‌को दास बन्छन् र आफ्नो र अरूको जीवन सधैँका लागि ध्वस्त पार्छन्। साँच्चै, यो संसार र मानव मन निकै विचित्रको छ!

 

Comments

Popular Posts