मौनताको चीत्कार

आहा! कति शान्त देखिन्छ यो संसार, हैन? बाहिरबाट हेर्दा लाग्छ यहाँ सब केही ठीक ठाउँमा छ। हावा बिस्तारै चलिरहेछ, रूखका पातहरू सुस्तरी हल्लिरहेछन्, अनि मान्छेहरू आफ्नै धुनमा बाटो काटी रहेछन्। तर के साँच्चै सब केही शान्त छ त? के मेरो यो छातीभित्र चलिरहेको आँधी कसैले देख्न सक्छ? सायद सक्दैन। किनभने म बोलिरहेको छैन। मेरो ओठ बन्द छ। म हाँसिरहेको छु, मानौँ मभन्दा सुखी यो संसारमा कोही छैन। तर मेरो यो ओठको हाँसो र आँखाको रित्तोपनबीचको अन्तर बुझ्ने फुर्सद कसलाई छ र? सबैजना त केवल आवाज सुन्न पल्किएका छन्। जो चिच्याउँछ, उसैको सुनुवाइ हुन्छ। जो रुन्छ, उसैको आँसु पुछिन्छ। तर जो भित्रभित्रै शब्दहरूसँग लडिरहेछ, जो आफ्नो पीडालाई शब्दको रूप दिन नसकेर केवल मौनताको सहारा लिइरहेछ, उसको चीत्कार कसैले सुन्दैन। यो मौनता केवल शब्दहरूको अभाव होइन, यो त आत्माको त्यो भयानक चीत्कार हो, जसले बाहिर कुनै तरङ्ग पैदा गर्दैन तर भित्रभित्रै सम्पूर्ण अस्तित्वलाई नै तहसनहस बनाइदिन्छ।

कहिलेकाहीँ म आफैँलाई सोध्छु, म किन बोलिरहेको छैन? के मसँग शब्दहरू सकिएका हुन्? वा मैले भन्न खोजेका कुराहरू यति गम्भीर छन् कि तिनलाई समेट्ने सामर्थ्य कुनै भाषाका शब्दहरूसँग छैन? मान्छेहरू भन्छन्, मनको कुरा पोखेपछि मन हल्का हुन्छ। तर कसलाई पोखूँ म यो मन? यहाँ त मान्छेहरू अर्काको पीडा सुन्न होइन, केवल आफ्नो प्रतिक्रिया दिन तयार बसेका छन्। कसैले तिमीलाई सुन्दैनन्, उनीहरू त केवल तिमीलाई गलत वा सही साबित गर्ने तर्क खोजिरहेका हुन्छन्। त्यसैले मैले बोल्न छाडिदिएँ। मैले आफ्नो पीडा, मेरो छटपटी, मेरो निराशा र मेरा सपनाहरूको मलामी आफैँ बनेर यो मौनताको पछ्यौरा ओढ्न रोजेँ। तर यो मौनता शान्त छैन। यो त ज्वालामुखी विस्फोट हुनुभन्दा अघिको त्यो भयानक सन्नाटा जस्तै छ, जसले भित्रभित्रै सबै कुरा जलाएर छारो बनाइरहेछ।

तिमीहरू सोच्छौ होला कि मौन हुनु भनेको कमजोर हुनु हो, वा केही भन्न नसक्नु हो। तर होइन, मौनता त त्यो अन्तिम सीमा हो जहाँ पुगेपछि मान्छेले महसुस गर्छ कि अब शब्दहरूको कुनै अर्थ रहेन। जब मान्छे आफ्ना सबै प्रयासहरूमा असफल हुन्छ, जब आफ्ना मान्छेहरू नै अनौठा लाग्न थाल्छन्, अनि उसले आफ्ना भावनाहरूलाई शब्दमा ढलाउन छाड्छ। यो मौनता एउटा यस्तो ऐना हो, जसमा मैले आफ्नो वास्तविक रूप देख्छु। बाहिर म समाजले चाहेको जस्तो मान्छे बनिरहेको छु, उनीहरूको खुसीमा ताली बजाइरहेको छु, उनीहरूको दुःखमा सहानुभूति जनाइरहेको छु, तर मेरो आफ्नै भित्री संसार भने खण्डहर बनिसकेको छ। त्यो खण्डहरमा हरेक सेकेन्ड एउटा चीत्कार गुन्जिन्छ, तर त्यो बाहिर आउन पाउँदैन। त्यो चीत्कार मेरो गलामा ठोक्किएर पुनः मेरो मुटुमै फर्कन्छ र झन् ठूलो चोट पुर्याउँछ।

म हरेक रात यो मौनतासँग जुध्छु। जब सम्पूर्ण शहर सुत्छ, जब अध्यारोले मलाई चारैतिरबाट घेर्छ, तब मेरो भित्री चीत्कार झन् चर्को हुन थाल्छ। म चिच्याउन चाहन्छु, म ठूलो स्वरले रोएर भन्न चाहन्छु कि म थाकिसकेँ। म थाकिसकेँ यो जीवनको कृत्रिम अभिनय गर्दागर्दै, म थाकिसकेँ अरूको आशाको बोझ बोक्दाबोक्दै। म केवल अलिकति राहत चाहन्छु, अलिकति शुद्ध हावा चाहन्छु जहाँ म कुनै मुखौटाबिना सास फेर्न सकूँ। तर म चिच्याउन सक्दिनँ। मेरो स्वर मेरो छातीमै अड्किन्छ। मलाई लाग्छ, यदि मैले आज आफ्नो मौनता तोडेर चिच्याएँ भने, यो आकाश फाट्नेछ, यो धरती काप्नेछ। तर विडम्बना, म केवल टोलाएर छततिर हेरिरहन्छु र मेरा आँखाबाट दुई थोपा तातो आँसु पसिनामा मिसिएर बगेर जान्छन्। त्यो आँसु पनि मेरो मौनताकै एउटा अंश हो, जसले बिनाकुनै शब्द धेरै कुरा भनिरहेको हुन्छ।

हामी कस्तो समाजमा छौँ जहाँ मान्छेको सफलता उसको बाहिरी चमकधमकबाट नापिन्छ, तर उसको भित्री मौनताको चीत्कार कसैले देख्दैन? यहाँ मान्छेहरू मान्छेकै भिडमा एक्ला छन्। हामी दिनहुँ हजारौँ मान्छेसँग ठोक्किन्छौँ, हजारौँ कुराहरू गर्छौँ, तर ती सबै कुराहरू कति सतही हुन्छन्! कसैले कसैको आँखामा झाँकेर यो सोध्ने हिम्मत गर्दैन कि तिमी भित्रबाट कस्ता छौ? यदि कसैले सोधिहालेछ भने पनि उत्तरमा एउटा औपचारिक हाँसोसहित 'म ठिक छु' भन्नुको विकल्प हुँदैन। त्यो 'म ठिक छु' भन्ने शब्दभित्र कति ठूलो मौनताको चीत्कार लुकेको हुन्छ, त्यो त केवल भनिसक्नेलाई मात्र थाहा हुन्छ। त्यो एउटा सानो वाक्य वास्तवमा एउटा ठूलो झूट हो, जुन हामीले आफैँलाई र यो संसारलाई बचाउनका लागि हरेक दिन बोलिरहेका हुन्छौँ।

मौनताको यो चीत्कारले मलाई दिनहुँ अलिकति मार्छ र फेरि जीवितै छाडिदिन्छ ताकि म भोलि फेरि त्यही पीडा महसुस गर्न सकूँ। यो कुनै रोग होइन, यो त आत्माको त्यो घाउ हो जुन कहिल्यै पुरिँदैन। जब मान्छेका सपनाहरू एक-एक गरी भत्किन्छन्, जब विश्वासको जग हल्लिन्छ, र जब भरोसा गरेका हातहरूले नै पछाडि धकेल्छन्, तब मान्छे बोल्न छाड्छ। उसले बुझ्छ कि गुनासो गर्नु व्यर्थ छ, स्पष्टीकरण दिनु बेकार छ। त्यसपछि सुरु हुन्छ मौनताको अध्याय। तर यो अध्याय शान्त हुँदैन, यो त शब्दहरू नभएको एउटा भयानक युद्ध हो, जहाँ मान्छे दिनहुँ आफ्नै विचारहरूसँग हारिरहेको हुन्छ।

के कहिल्यै कसैले मेरो यो मौनतालाई बुझ्न सक्ला? के कसैले मेरो ओठको सन्नाटा पछाडि गुन्जिरहेको त्यो करूण चीत्कारलाई सुन्न सक्ला? सायद छैन, किनभने यो संसार केवल दृश्य र ध्वनिमा विश्वास गर्छ। उनीहरूलाई देखिने घाउ मन पर्छ, उनीहरूलाई सुनिने रोदन मन पर्छ। तर मेरो घाउ त अदृश्य छ, मेरो रोदन त अशब्द छ। मेरो मौनता नै मेरो सबैभन्दा ठूलो ढाल हो र यही नै मेरो सबैभन्दा ठूलो सजाय पनि हो। म यही मौनताको कैदमा थुनिएको छु, जहाँ म नै अपराधी हुँ र म नै न्यायाधीश।

अब त मलाई यो मौनतासँगै माया लाग्न थालिसकेको छ। यसले मलाई कसैको अगाडि झुकग्न दिँदैन, यसले मेरो कमजोरीलाई बाहिर ल्याउन दिँदैन। तर कहिलेकाहीँ, जब म धेरै नै गलेको महसुस गर्छु, मलाई लाग्छ यो मौनताको पर्खाललाई तोडेर म कतै टाढा जाऊँ, जहाँ म केवल चिच्याउन सकूँ। जहाँ मेरो चीत्कारलाई कसैले नसुने पनि त्यो हावामा विलीन भएर जाओस्। तर म कतै जान सक्दिनँ। म यहीँ, यो भिडको बीचमा, यो मौनताको चीत्कार बोकेर बाँचिरहने छु। म हाँसिरहने छु, म बोलिरहने छु, तर मेरो भित्री आत्मा भने सधैँ एउटा शान्त, गहिरो र भयानक मौनतामा चीत्कार गरिरहनेछ, जसको कुनै प्रतिध्वनि यो संसारले कहिल्यै सुन्ने छैन।

Comments

Popular Posts